काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाहिरी शक्तिको दबाबबाट भ्रष्टाचारको छानबिन हुन थालेको आरोप लगाएको छ ।

आइतबारदेखि सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले बाह्य शक्तिको दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको बताएका हुन् । बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष लिङ्देनले प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय भएको टिप्पणी गरे ।
‘प्रचण्डको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो’, लिङ्देनको प्रतिवेदनमा भने ।
‘सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ बस्तु बनेको छ । सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ’, राप्रपाको प्रतिवेदनमा भनिएको छ, ‘यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ । धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’
विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू सेलाएर जाने र ठूला माछाहरुलाई उन्मुक्ति दिने नजीरले गर्दा नक्कली शरणार्थी काण्डमा न्याय निसाफ हुन्छ भनेर नागरिक समाज अझैं आश्वस्त हुन नसकेको उनले बताए ।














