Logo
Logo

बैंकिङ क्षेत्रमा अर्काे समस्या, खाताधनीलाई थाहा नदिई लाखौं निकालियो, ६ जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ मंसिर ।
बैंकिङ क्षेत्रमा अर्काे समस्या देखिएको छ । सम्पत्ति खातावाललाई थाहा नै नदिई उनीहरुको नाममा चेक निकालेर हस्ताक्षर समेत चोरी गरी पैसा निकाल्न थालिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले यस्तो समूहका ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखालका हाल कालीमाटी बस्दै आएका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरे रहेका छन्।

उनीहरुले मंसिर ८ को राति जनता बैंकको खातावाल गोपालमान राजवाहकले आफ्नो खाताबाट पटक पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेका थिए । उनको मोबाइल मेसेज आएको तर आफैँ कुनै पनि चेक कसैलाई नदिएको भन्ने पीडितको सूचना परिसर काठमाडौंमा दिए। त्यसपछि प्रहरीको विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरी पीडितको खाता तत्काल चेक गर्दा पीडितलाई दिएको चेकबुक बाहिरबाट नयाँ चेकबुक निकाल्न सफल भई नयाँ चेकबाट पैसा निकाल्न सफल भएको देखिएकोले खोजतलास गर्ने क्रममा मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकी एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसपछि अनुसन्धानको क्रममा अन्य व्यक्तिलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरुका ठूलो परिमाणमा चेकबुक खाता खोल्न तयार रहेका फर्महरु, एनआईसी बैंकको भिसा कार्ड, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी, प्रयोग भएका नक्कली हस्ताक्षरहरु बरामद गरेको प्रहरीले जनाएको छ। सो क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंमा राखी बैंकिङ कसुर सम्बन्धी सात दिने म्याद पाटन उच्च अदालतबाट लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट नेपाली नगद १८ हजार ५० हजार, विभिन्न व्यक्तिका नागरिकताका फोटोकपीहरु २ सय ९० वटा, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्ट्रर २६ थान, दुईवटा हस्ताक्षर नमूना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको तीन सय थान फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ। त्यस्तै, जनता बैंकबाट विभिनन व्यक्तिहरुको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक, काटिएको अवस्थाको ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेष्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुक समेत बरामद भएको छ।
बैंकहरुले सम्बन्धित व्यक्ति उपस्थित नहुँदा समेत सजिलै चेक दिने प्रचलनका कारण यस्तो समस्या देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बैंकका कर्मचारीहरुमाथि समेत छानबिन गरिरहेको छ । १८ वटा बैंकबाट उनीहरुले यस्तो कारोबार गरेको प्रहरी आशंका छ ।

प्रतिक्रिया दिनुहोस्