
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् ।
आज बिहान बालुवाटार पुगेर सहायक मन्त्री वाट्सले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका छन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।
उनीहरुबीच नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो ।
मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए ।











