काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णयअनुसार बैशाख २७ गते मन्त्रालयले सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो । सोहीअनुसार मन्त्रालयले बुधबार तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए ।
परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/आयोग/सचिवालय/प्रदेश वा अन्तर्गतका कार्यालयहरु र स्थानीय तहहरुमा सरुवा, पदस्थापना, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएको संघीय निजामती कर्मचारीको रमाना दिए/लिएको विवरण यही जेठ ७ गतेभित्र उपपलब्ध गराइदिनु हुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ ।’
यसअघिको परिपत्रमा रमाना भई नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नेसमेत उल्लेख थियो ।
मन्त्री मोदीको निर्णयपछि रमाना नलिई बसेका दर्जनभन्दा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र संघीय कार्यालय मातहतका कर्मचारीले रमाना बुझेका छन् । रमाना लिए÷दिएका विवरण प्राप्त भएपछि पनि अटेरी गर्नेमाथि अन्य कारबाहीका प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।











