
विराटनगर । कोशी प्रदेश प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगर गृजिल्लाबाट लखेटिएका छन् । गृह जिल्ला इलामको माङसेबुङस्थित पञ्चमी बजार पुगेका मगरलाई आन्दोलनरत पहिचावादीहरुले लखेटेका हुन् ।
बुधबार इलामको माङसेबुङ गाउँपालिकाको पञ्चमी बजारमा आयोजित एउटा कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमण समेत गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मगरलाई एमाले जिल्ला कमिटी इलामको बैठकका लागि जाने क्रममा माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ स्थित पुरानो गाविस भवन क्षेत्रमा आक्रमण गरिएको हो ।
प्रदेश १ को नामाकरण राख्दा प्रदेशसभामा कोशी नामको प्रस्तावक रहेका उनलाई ढुङ्गा प्रहार भएको थियो । आक्रमणबाट मगर सवार बा २ झ ३७३७ नम्बरको गाडीको अगाडि र पछाडीको सिसा फुटेको छ । आक्रमणपछि मगर जिल्ला कमिटिको बैठकमा सहभागी नभइ दमक झापाको दमक फर्केका छन् ।

यसैबीच, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक विज्ञप्ती जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरुले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन् ।
आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ ।
कोशी प्रदेशसभाले पहिचानलाई उपेक्षा गरेर प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरु आन्दोलित छन् । उनीहरुले प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग गर्दै आएका छन् ।











