
काठमाडौंं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर अनुसन्धान जारी छ । लगभग मानव बेचबिखन प्रकृतिकै गम्भीर अपराधमा संलग्न खाँडलाई नेपाली कांंग्रेसले अझै पनि निलम्बन गरेको छैन ।
सामान्यतय यस्ता गम्भीर प्रकृतिका मुद्दामा पक्राउ परेर अनुसन्धन सुरु हुने वित्तिकै निलम्बित हुनुपर्ने हो । आरोप प्रमाणित भए त बर्खास्त नै हुन्छन् ।
घटनाको प्रकृति र प्राप्त प्रमाणहरुलाई आधार मान्दा खाँडलाई अहिलेकै अवस्थामा पनि पार्टीबाट बर्खास्त गर्न सकिने आधारहरु भेटिएका बताइन्छ । तर, कांग्रेसले भने अहिलेसम्म खाँडलाई कारबाही नगरेर संरक्षण गरिरहेको छ ।
खाँड पक्राउ परेपछि पनि धेरै पटक वर्तमान तथा पूर्व पदाधिकारीको बैठक बसिसकेको छ । बैठकमा खाँडलाई निलम्बन गर्नुपर्ने माग गर्नेको संख्या थोरै छ । अघिकांश नेता भने संरक्षण गर्नुपर्ने पक्षमै उभिएका छन् ।
पछिल्लो पटक बसेको वर्तमान तथा पूर्वपदाधिकारी बैठकमा पनि उपसभापति तथा मन्त्री धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निलम्बन गर्नुपर्ने माग गरेका थिए । तर, सभापति शेरबहादुर देउवासहित अन्य नेता खाँडलाई निलम्बन गर्न नहुने पक्षमा उभिकाए छन् ।
कांग्रेस गम्भीर अपराधको आरोप लागेका खाँडलाई निलम्बन नगरेर प्रहरीको अनुसन्धानमै प्रभाव पार्ने कोसिसमा जुटेको आरोप लाग्ने गरेको छ । सभापति देउवाले प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर खाँडलाई उन्मुक्ति दिन दबाब दिइरहेको समेत बुझिएको छ ।














