
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाएका छन् । बिहीबार सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने र शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा हार्दिक धन्यवाद दिएका छन् ।
ट्वीटमा भनिएको छ, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद व्यक्त गर्दछु ।’
प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेखनीय सुधारको क्रम जारी रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।












