Logo
Logo

स्थल मार्गबाट आउने विदेशी पर्यटकलाई एकद्वार सेवा प्रदान गरौं : चन्द्र ढकाल


441
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई एकद्वार प्रणालीबाट सेवा दिन आग्रह गरेका छन् । 

अध्यक्ष ढकालले अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सीमानाकामा दुख पाएको गुनासो आएकोले समाधान निकाल्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् । 

बिहीबार काठमाडौँमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘हाम्रा विभिन्न सरकारी निकायहरूबीच समन्वय नहुँदा भारतीय सिमानाकाबाट स्थल मार्गबाट आउने पर्यटकहरूले विभिन्न किसिमका झमेलाहरू झेल्न परिरहेको गुनासो आउने गरेको छ ।’

पर्यटकले दुख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्ने समस्या आउन सक्ने अध्यक्ष ढकालले बताए । उनले हरेक प्रदेशमा ठूला र नमुना पर्यटकीय गन्तव्यहरू निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरेका छन् । 

काठमाडौँको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै यस्तै किसिमका पूर्वाधारहरू सात वटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाइँलाई दोब्बर गर्न सकिने बताए । आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियन्ताको रूपमा लागेको अध्यक्ष ढकालको भनाई छ ।

उनले समस्या मात्र राखेर समाधान नहुने पनि बताए ।  उनले भने, ‘हामीले जहिले पनि समस्या मात्र राख्ने तर समाधानको उपायमा छलफल नै नगर्ने भन्ने कुरा यहाँ उठेको छ । म समस्यासँगै समाधानको उपाय पनि राख्न चाहन्छु । हामीले काठमाडौँको चन्द्रागिरिमा निर्माण गरेको रिसोर्ट र केवलकारसहितको स्थान अहिले स्वदेशी र विदेशी दुवै पर्यटकको रोजाइको नयाँ गन्तव्य बनेको छ । हामीले यस्ता गन्तव्यहरू हरेक प्रदेशमा कम्तिमा एउटा मात्र पनि बनाउन सकेमा पर्यटकको बसाइ लम्बाउन र खर्च बढाउन सकिन्छ,’

आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउनुपर्छ भनेर अभियन्ताको रुपमा लागेको उनले बताए । ‘नेपाल–भारत सीमा नाकानजिक रहेका नेपालका पहाडी गन्तव्य भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएका छन्,’ उनले भने, ‘सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्छ ।’

त्यस्ता क्षेत्रमा सरकारले न्यूनतम पूर्वाधारहरू जस्तैः बाटो, बिजुली, पानी र सुरक्षा मात्र व्यवस्था गरिदिने हो भने निजी क्षेत्रले यसको पहल गरिरहेको उनले बताए । ‘यसबाट अहिले विदेशी मुद्रा सञ्चितिमा परेको समस्या समाधानका साथै रोजगारी र राजस्वमा समेत ठूलो योगदान पुग्नसक्छ,’ उनले भने ।

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको उनले बताए । भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आवश्यक पहल गर्न पनि उनले सरकारलाई आग्रह गरे ।

विश्वका धेरै देशमा पर्यटकलाई धेरैभन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेको बताउँदै उनले नेपालमा भने पर्यटकले नगद रुपैयाँ ल्याउँदा पनि अधिकतम सीमा निर्धारण गर्दा खर्च बढ्न नसकेको बताए ।

‘विश्वका धेरै देशमा पर्यटकलाई धेरैभन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति छन् । छिमेकी देश भुटानले पनि न्यूनतम् यति खर्च गर्नैपर्ने भनेर प्रावधान नै बनाएको छ । तर हामीकहाँ २५ हजारभन्दा धेरै भारतीय मुद्रा ल्याउँदा उल्टै दुःख दिने गरिन्छ । यस्ता समस्याको तत्काल समाधान ननिकाल्ने हो भने खर्च बढ्दैन । पर्यटकले पनि दुस्ख पाउँछन्,’ उनले भने, ‘त्यसैले नगदको सीमा बढाउने वा सहज वातावरण बनाउनेतर्फ पहल गर्न सरकारसँग मेरो आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस्