Logo
Logo

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीद्वारा प्रदर्शन


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघरस्थित मण्डलमा प्रदर्शन गर्दै एकीकृत समाजवादीले दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैमाथि कुनै राजनीतिक प्रभाव र दवावमा नपरी निष्पक्षरुपमा अनुसन्धान गर्न र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आएको छ ।

सोही क्रममा एकीकृत समाजवादीको मोर्चा संगठनले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो । साथै, देशभरीका जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म दुई पूर्वमन्त्रीसहित १५ जना पक्राउ परिसकेका छन् । बिहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेका छन् । उनलाई सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्