रुपन्देही । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको मोर्चा संगठनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

आज (बिहीबार) रूपन्देहीको सिद्धार्थ नगरपालिकाको मिलन चोकमा प्रदर्शन गर्दै संगठनले दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेको हो । संगठनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका जोसुकैलाई कारबाही गर्नुपर्ने माग गरेकाे छ ।
विरोध सभालाई समर्थन गर्दै वरिष्ठ साहित्यकार बुद रानाले पनि समर्थन गरेका थिए । उनले गृहमन्त्रालय जस्तो महत्वपूर्ण अङ्गमा मानव तस्करीजस्तो जघन्य अपराधमा संलग्न हुनु निन्दनीय भएको बताए । उनले राष्ट्रियताको सवालमा देशका आम जनमानसलाई सडकमा उत्रिन आह्वान गरे ।
मधेसी मोर्चाका अध्यक्ष श्री राम यादव नक्कली शरणार्थी प्रकरण जघन्य अपराध भएको र त्यसमा संलग्न नेताहरूलाई कारबाही नहुने हो कि भन्दै शंका व्यक्त गरे । उक्त प्रकरणमा सरकारले कसैलाई छाड्न नहुने उनको माग थियो ।
युवासंघ नेपालका अध्यक्ष कृष्ण थापा भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैको सम्पत्ति छानविन हुनुपर्ने बताए । अखिल नेपाल महिला संघका लुम्बिनी प्रदेश उमा काफ्लेले यो प्रकरणले सिंगो देशलाई विश्वसामु शिर झुकाउनु पर्ने अवस्था आएको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।
एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैमाथि कुनै राजनीतिक प्रभाव र दबाबमा नपरी निष्पक्षरूपमा अनुसन्धान गर्न र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आएको छ । एकीकृत समाजवादीले आज काठमाडौंमा पनि विरोध प्रर्दशन गरेको थियो ।











