
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी छ । पाँच दिनअघि आरोहण सुरु भएकोमा ३ सय ३० जनाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।
बिहीबार अबेरसम्म ३३० जनाभन्दा बढीले आरोहण पूरा गरेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।
आज शुक्रबार बिहान पनि केही आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् तर त्यसको विवरण प्राप्त भइनसकेको उनले बताए ।
गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका छन् ।
निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् ।
विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।











