
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविरमा घोटाला भएको दाबी गरेका छन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर घोटाला भएको प्रमाणित भएको पुष्टी भए जेल जान तयार रहेको बताएपछि एमाले महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । साथै उनले प्रधानमन्त्री प्रचण्डलाई चुनौती समेत दिएका छन् ।
‘लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैले हुंकारका साथ बोलेको अडियो सामाजिक संजालमा सुरक्षित छ ।’
वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बताउँने गरेको उनको भनाइ छ ।
‘शिविरमा रहेकाहरुले वुझ्ने गरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो’ पोखरेलले भनेका छन्, ‘अनमिनले प्रमाणिकरण गरेकाहरुमध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेकै हुन् ।’
प्रचण्डले अझै पनि ठूलो स्वरमा हुंकार दिँदैमा लडाकु शिविरमा कुनै भ्रष्टाचार र अनियमितता नभएको नहुने उनको तर्क छ ।
‘यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भारबोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन’ उनले भनेका छन्, ‘हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’














