काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन् । राष्ट्रपति पौडेलले अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
राष्ट्रपति चयन भएसँगै पौडेलले तडकभडकपूर्ण सवारी परम्परामा परिवर्तन ल्याएका छन् । शुक्रबार राष्ट्रपति पौडेलको सवारीमा शीतल निवासबाट संसद भवनमा सडक खाली गराइएन । सामान्य औपचारिकताका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराइन्थ्यो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । नागरिकको चर्को विरोधपछि कुटपिटमा संलग्न प्रहरी नै निलम्बनमा परेका थिए ।

गणतन्त्रको स्थापनापछि पनि राजतन्त्रकालीन अभ्यासलाई निरन्तरता दिएको भन्दै नागरिकले विभिन्न माध्यमबाट चर्को आलोचना भएको थियो । तर, पौडेल राष्ट्रपति चयन भएसँगै तडकभडकपूर्ण सवारीको परम्परा तोडेका हुन् ।














