Logo
Logo

कपिलवस्तुमा माछा अनुसन्धान केन्द्र बनाउने नार्कको निर्णय


945
Shares

कपिलवस्तु । राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) ले कपिलवस्तुमा माछा अनुसन्धान केन्द्र निर्माण गर्ने निर्णय गरेको छ ।

नार्कको बिहीबार बसेको ६३ औं परिषद बैठकले जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ मा माछा अनुसन्धान केन्द्र बनाउने निर्णय गरेको हो ।

डा। बेदुराम भुसालले आफू कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा नार्कको कार्यालय स्थापनाका लागि पहल थालेका थिए । यसका लागि बैशाख अन्तिम हप्ता कृषिमन्त्री भुसाल जिल्लामा स्थलगत अनुगमनमा गएका थिए ।

जिल्लाका विभिन्न स्थानको अवलोकन पश्चात बाणगंगा ८ को जग्गा उपयुक्त देखिएपछि यहाँ माछा अनुसन्धान केन्द्र बन्ने भएको हो । नार्कको अध्यक्ष समेत रहेका मन्त्री भुसालले ६३ औं परिषद् बैठकमा माछा अनुसन्धान केन्द्र स्थापनाको एजेण्डा लगेका थिए ।

परिषद बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गर्दै यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । नेपालको तराई क्षेत्रमा समग्र ८० प्रतिशत माछा उत्पादन हुँदै आएको छ। तर माछा सम्बन्धी अनुसन्धान केन्द्र नभएको अवस्थामा पहिलो पटक नार्कले छुट्टै कार्यालय स्थापना गर्न लागेको हो ।

नार्कका लागि बाणगंगा नगरपालिकाले २५ विगाह जग्गा उपलब्ध गराउने छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले माछा अनुसन्धान केन्द्र स्थापनाका लागि नगर कार्यापालिकाबाट जग्गा उपलब्ध गराउने गरी पहल थालिसकेका छन् ।

नार्कका बैज्ञानिक सम्मिलित एक टोलीले जग्गाको प्रारम्भिक निरीक्षण गरिसकेको छ । अब जग्गा प्राप्ति लगायतका बाँकी काम अगाडि बढाउने गरी काम भइरहेको नार्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्