दाङ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी र पूर्वमन्त्री हिराचन्द्र केसी एमालेमै फर्किएका छन् । शनिबार उनीहरुसँगै एकीकृत समाजवादी दाङ जिल्ला कमिटीका केही पदाधिकारी समेत एमालेमा फर्किएका हुन् ।

तुलसीपुरमा शनिबार आयोजित एक कार्यक्रमबीच उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।
एमालेमै फर्किनेहरुमा एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीलगायतका रहेका छन् ।
शुक्रबार मात्रै एकीकृत समाजवादीले पार्टीको हितविपरीत काम गरेको भन्दै सचिव विश्वासीसहित ६ जनालाई कारबाही गरेको थियो । यसैबीच एकीकृत समाजवादी जिल्ला कमिटी दाङले समेत अध्यक्ष, उपाध्यक्ष, सचिवलाई कारवाही गरेर शुक्रबार भूपबहादुर केसीको अध्यक्षतामा १७१ सदस्यीय कमिटी गठन गरेको थियो ।











