दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टी अब अगाडि नबढ्ने बताएका छन् । शनिबार दाङको तुलसीपुरमा आयोजित नेत्रलाल पौडेल अभागीको ४०औं स्मृति सभामा बोल्दै उनले माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी चल्न नसक्ने दाबी गरेका हुन् ।

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीलगायतलाई एमालेका स्वागत गर्दै उनले भने, ‘कुनैदिन माधवजीले षड्यन्त्रपूर्वक एमालेलाई कमजोर पार्न, सिध्याउँन र पराजित गर्नकै लागि पार्टी विभाजन गर्नुभएको थियो । अब उहाँका षड्यन्त्रका तानाबाना सबै समाप्त भइसकेका छन् ।’
महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले अहिले सत्ताको नेतृत्व गरिरहेको भएपनि निरन्तर ओरालो लागिरहेको दावी गर्दैं भने, ‘माओवादीको अस्तित्व नै संकटमा परेको छ ।’
माओवादीले ठूला दलहरूबीच खेलेर वा भाँजो हालेर आफ्नो अस्तित्व जोगाउन नसक्ने उनको दावी छ । ‘अब छिट्टै माओवादी दाङका दर्जनौं नेताहरू एमालेमा पार्टी प्रवेश गर्ने तयारीमा छन्’ उनको दावी छ ।
अहिलेको आर्थिक मन्दीको प्रमुख कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको उनको आरोप छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले व्यापारीलाई राखेर करका दर हेरफेर गर्दा उनमुक्ति पाएकाले देशमा आर्थिक संकट चुलिएको उनको भनाइ छ ।
उनले भने, ‘सिसिटिभी फुटेज गायब पार्ने र जनार्दनलाई जोगाउने खेलका कारण देशले आर्थिक संकट व्यहोर्नुपरेको हो । यो दोष शेरबहादुर र प्रचण्डहरूकै थियो ।’











