
काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो धारणा राख्ने भएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै एमालले आज बिरोधसमेत जनाउने तयारी गरेको छ ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने बताइएको छ । अध्यक्ष ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वीकार योग्य नभएको बताएका थिए ।
‘मुलुकलाई सहि दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले बैठकमा भने, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’











