काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध नगर्ने भएको छ । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद सोविता गौतमले संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध नगर्ने र रचनात्मक सुझाव दिने बताईने ।

‘सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रुपमा बुझ्ने प्रचलन छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ- राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी हो, यानेकी सरकारलाई राम्रो कुरामा पनि प्रशंसा गर्छ । सरकारलाई सघाउँछ पनि तर त्यही समयमा सरकारलाई खबरदारी पनि गर्छ कतै नराम्रो काम गर्ने हो कि ! यो काम हुँदैन कि भनेर’, उनले भनेकी छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै राम्रा कुरा समेटिएका, कतिपय महत्वाकांक्षी कुराहरु पनि रहेको सांसद गौतमको भनाई थियो ।
कृषि पशुपंक्षी र खाद्य सम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नती गर्नुपर्ने र यस्ता वस्तुहरुको ओसारपसार गर्ने सबै भन्सार बिन्दु र मुख्य शहरमा प्रयोगशाला स्थापना गरिनुपर्ने उनले सुझाव दिईन् ।
सांसद गौतमले सामुदायिक खेती प्रणाली कार्यान्वयनका लागि नीतिगत व्यवस्था गर्ने, स्थानीय उतपादनको बजारीकरणका लागि स्थानीय सरकारसँग मिलेर हाटबजार पुनः सञ्चालन गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने सुझाव दिईन् ।











