Logo
Logo

उपनिर्वाचन : २ लाख ९७ हजार १३७ ले गरे मतदान


- दृष्टि न्युज/संवाददाता


घोराही उपमहानगरपालिका वडा नं १६ को मत गणना सुरु गर्दै । तस्वीर/रासस

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।
शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेका छन् । जसमा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।
स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।
उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले शनिबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागितामा उत्साह र अत्यन्त शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानारी दिए ।
यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विस्फोटका छिटपुट घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।
उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने आममतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

कतिपय मतदान केन्द्रमा बिहान सबेरैदेखि निकै अनुशासित र उत्साहका साथ मतदाता पङ्त्तिबद्ध भएर बस्नुभएको थियो भने चिसोका कारण केही मतदान केन्द्रमा भने दिउँसो मतदाताको घुइँचो लागेको थियो । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या उलेख्य रहेको देखिन्थ्यो ।
मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिँदैछन् ।
उपनिर्वाचनको अवलोकनका लागि काठमाडौँस्थित अमेरिका, जापन, युरोपियन युनियन र अष्ट्रेलियाका राजदूत एवं प्रतिनिधि विभिन्न मतदान केन्द्रमा पुगेका थिए ।
‘मतदान सकिएलगत्तै मतपेटीका सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याएर केही स्थानमा मतगणनाको लागि आवश्यक प्रक्रियासमेत शुरु भएको छ । खासगरी वडाध्यक्ष पदको मतगणनाको नतिजा शनिबार राति अबेरसम्म आइसक्ने आयोगले आकलन गरेको छ’, प्रमुख आयुक्त थपलियाले भने । आगामी १२ घण्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्