
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवामाथी पनि अनुसन्धान गर्न माग गरेका छन् ।
आज (सोमबार) संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सुवालले ओली र देउवाप्रति इंकित गर्दै दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् ।
‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्’ सुवालले भने, ‘यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?’ भन्दै सुवालले प्रश्न गरे ।
एक पूर्वप्रधानमन्त्रीले ४ सय जनालाई १० दश वर्षअघि भुटानी शरणार्थी बनाई अमेरिका छिराएको आफूसँग प्रमाण भएको सार्वजनिक रुपमा बताउनु भएको छ । यो विषय सरकारलाई थाहा छैन ?’ त्यस्तै अर्को प्रसंगमा उनल जापानमा राजवंशी कोटा खुल्यो भन्दै ४ सय जनासँग ३ करोडभन्दा बढी ठगी गर्ने गिरोहमा मन्त्रीको समेत संलग्नता हुनसक्ने आशंका व्यक्त गरे ।











