Logo
Logo

चितवनमा कांग्रेस, प्यूठान र अछाममा नेकपा विजयी


- दृष्टि न्युज/संवाददाता


चितवन, १५ मंसिर । यहाँका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले तीन हजार १८३ मत प्राप्त गरे भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गरेका थिए ।
यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याएका थिए ।
खैरहनीकै वडा नं ५ मा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नुभएको छ । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो ।
यस्तै, उता प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हु्न । विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गरेका थिए ।
यस्तै अछामको मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो । झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र कांग्रेसका डम्बर स्वार घाइते भएका प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्