काठमाडौं । माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई लक्षित गर्दै विगतका भ्रष्टाचार प्रकरणमा ‘गल्ती भए जेल जान तयार छु’ भन्न सक्छन् कि सक्दैनन् भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सापकोटाले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा भ्रष्टाचारका सबै प्रकरणका फाइल खोल्न र गल्ती भेटिए कारबाही भोग्न तयार हो कि होइन भनेर प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्यान्टोनमेन्टका फाइल खोल्न तयार रहेको र भ्रष्टाचार भेटिए जेल जान तयार रहेको संसद्मा भनेको स्मरण गराउँदै सांसद सापकोटाले यती र ओम्नी लगायतका अनियमितता खोल्न र कारबाही भोग्न ओली तयार हुन् कि होइन भनेर प्रश्न गरे ।
‘भ्रष्टाचारका कुरा उठे । भ्रष्टाचारका विषयमा उठेका कुरामा सहमत छु । रघुजी पन्तले पनि नैतिकताको कुरा गर्नुभयो । त्यै नैतिकता भएर होला प्रधानमन्त्रीज्यूले क्यान्टोनमेन्टका फाइलहरू खोलौं म दोषी रहेछु भने जेल जान तयार छु भन्नुभयो,’ उनले प्रश्न गरे, ‘प्रमुख प्रतिपक्षी दलको नेताले पनि यती र ओम्नीका फाइलहरू खोलौं, गल्ती रहेछ भने जेल जान तयार छु भन्ने आँट गरौं न ! सुरुवात त्यहाँबाट नै हुन्छ । एकले अर्कालाई किन आरोप प्रत्यारोप मात्रै गर्ने रु नैतिकता भनेको कुरा त्यसरी प्रस्तुत गरौं ।’











