काठमाडौं । नेपाल सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी छ । आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिनुपर्ने बताए । त्यस्तै, प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नरहेको टिप्पणी गरे ।
बैठकमा नेपाली कांग्रेसका वीरबहादुर बलायरले नीति तथा कार्यक्रमले पछाडि परेका समुदाय, दलित, महिला सबैका विषय समेट्नुपर्ने र समग्रमा मुुलुकको विकास र समृद्धिका लागि बजेट बनाउनुपर्ने सुझाव दिए । नेकपा एमालेका भीमप्रसाद आचार्यले वर्तमान समस्याको समाधान गर्ने खालको नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।
एमालेका रघुजी पन्तले देशभक्त बनाउन र स्वेदशमै रोजगारीको व्यवस्था गरेर जनतामा आशा जगाउन नीति तथा कार्यक्रम स्पष्ट नभएको टिप्पणी गरे । नेकपा माओवादी केन्द्रका माधव सापकोटाले नीति तथा कार्यक्रम राम्रो भएको बताउँदै प्रभावकारी कार्यान्वयमा जोड द्यिए । कांग्रेसका डा नारायण खड्काले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विद्युत् उत्पादनलाई बढाएर धेरै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए ।
एमालेका सांसद ठाकुर गैरेले नीति तथा कार्यक्रममा सामाजिक र आर्थिक वृद्धि गर्ने खालको योजना नभएको हुँदा यसलाई समावेश गर्न माग गरे । कांग्रेसका तेजुलाल चौधरीले नीति तथा कार्यक्रममा पिछडिएको क्षेत्र, वर्ग र समुदायका लागि ठोस कार्यक्रम समावेश गर्न आग्रह गरे ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, कांग्रेसका प्रदीप पौडेल र रामहरि खतिवडा, एमालेका ईश्वरबहादुर रिजाल, माओवादी केन्द्रका छिरिङ डम्डुल लामा भोटे, एमालेका विद्या भट्टराई, कांग्रेसका राजु थापा र राजेन्द्र बजगाईं, एमालेका अम्बरबहादुर रायमाझी, कांग्रेसका प्रतिमा गौतम र कुसुमदेवी थापालगायतले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा व्यक्त गरे ।
छलफल आगामी बैठकमा पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ९ गते बिहान ११ बजे बस्नेछ ।











