Logo
Logo

विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउँछौँ : सामान्य प्रशासनमन्त्री


315
Shares

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने उद्घोष गरेका छन् । 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो उद्घोष गरेका हुन् । 

‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन’ उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी राख्दैनौँ ।’

मन्त्री मोदीले संस्था बलियो बनाउनका लागि प्रतिष्ठानका कर्मचारीहरूबीच बलियो एकता अनिवार्य शर्त भएको पनि बताए । उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि तपाईँहरूबीच बलियो एकता हुन जरुरी छ, तपाईँहरूबीच बलियो एकता भए मात्रै यो संस्था समुन्नतिको बाटोमा अघि बढ्छ ।’

प्रतिष्ठानका कर्मचारीहरूले सकारात्मक सोच र दृष्टिकोण राखेर कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो । संस्थाको हित र समुन्नति चाहेर दत्तचित्तका साथ काम गर्न समेत कर्मचारीहरूलाई मन्त्री मोदीले निर्देशन दिए ।

‘व्यक्तिको पद आवधिक कुरा हो, तर संस्था अविछिन्न रहन्छ र रहनुपर्छ, तसर्थ संस्थालाई सदैव जीवित राख्ने दीर्घकालीन सोचका साथ सबैले दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्छ’ मन्त्री मोदीले भने ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव कमल प्रसाद भट्टराईले छलफलमा प्राप्त सुझावका आधारमा मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्दै प्रतिष्ठानको समुन्नतिमा हातेमालो गर्ने बताए । 

कार्यक्रममा प्रतिष्ठानका निर्देशक जय कृष्ण श्रेष्ठले प्रतिष्ठानका वर्तमान अवस्था, समस्या र भावी योजनाका बारेमा आफ्नो प्रस्तुती राखेका थिए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरीले प्रतिष्ठानको हितका लागि मन्त्रालयबाट हालसम्म प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रतिष्ठानको प्रतिष्ठा उँचो राख्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्