
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद वाग्लेले नीति तथा कार्यक्रममा रहेको बिषयबस्तु बजेटमा समेत समावेश हुने भएकाले यसलाई नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका हुन् ।
बजेटमा छुट्टाइएका रकमहरु नीति तथा कार्यक्रमको कुनै दफामा टेकेर आएको छ भनेर पुष्टि भयो भने मात्रै उत्तरदायित्व हुने नभए कालो अक्षरको थुप्रो मात्रै हुने उनले बताए ।
नीति, नियत र क्षमताका आधारमा यथार्थपरक, विश्वसनिय र आशा जगाउने खालको बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । वाग्लेले दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराव गठजोड तोड्नका लागि सिर्जनशील भएर अगाडि जानुपर्ने धारणा राखे ।
त्यस्तै उनले सरकारले लिने लक्ष्य पुरा गर्नका लागि कार्ययोजना बनाएर नै कार्यक्रमलाई अघि बढाउन सुझाव पनि दिए ।











