Logo
Logo

१३औँ साग : उच्च मनोबलसँगै महिला फुटबल टोलीको ‘ओपनिङ टच’


- दृष्टि न्युज/संवाददाता


पोखरा रङ्गशालास्थित नवनिर्मित फुटबल मैदानमा पहिलोपटक अभ्यासका लागि आएका १३औँ साग महिला फुटबल टोलीलाई बिफ्रिङ दिँदै प्रमुख प्रशिक्षक हरि खड्का । तस्वीर : रासस

कास्की, १५ मंसिर । पोखरा रंगशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आइतबार ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही १७ मंसिर १७ देखि हुँदैछ ।
फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छ«े हिमालको काखमा सिंगारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन् ।
प्रशिक्षक हरि खड्काले पोखराको सुन्दरतासँग खेलाडीले निकै आनन्द महशुश गरेको बताउँदै भन्नुभयो, ‘‘फुटबल मैदानको केही काम निर्माण हुँदैछन् । यो खुलेको हिमाल मुनि ‘ओपनिङ टच’ले खेलाडीमा आत्मविश्वास बढाएको छ ।’’ सागका अघिल्ला संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो । घरेलु मैदानमा अघिल्ला खेलको बदला लिएर जित हासिल पार्ने दाउमा खेलाडी छन् ।

खड्काले यसपाली खेलाडीले निकै मेहनत गरेकाले जित्नेमा ढुक्क भएको बताए । ‘नेपालसँग भिड्ने भारत पनि बलियो प्रतिद्वन्द्वी नभएकाले हाम्रो मेहनतले सोचेजस्तै सफलता हासिल गर्नेमा ढुक्क छौँ’ उनले भने, ‘भारतीय र नेपाली टोलीको स्तर एउटै हो । अहिले साफ च्याम्पियनसिपदेखिको परिश्रमलाई उपयोग गरेर उपाधि जित्न चाहन्छौँ ।’
टोलीका लागि स्ट्राइकरको जिम्मेवारी सम्हाल्नुभएका सावित्रा भण्डारीले पनि मेहनत राम्रो गरेकाले खेल जित्ने विश्वास व्यक्त गरे । ‘अघिल्ला खेलमा देखिएका गल्ती यो खेलमा दोहोरिने छैनन्, सुधारले नतिजा राम्रै हुनेमा आशावादी छौँ ।’ घरेलु मैदानको फाइदा उठाउँदै नेपालीलाई खुशी दिलाउन आफुहरुले निकै मेहनत गरेको उनको भनाइ छ ।
साग महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलंकासँग भिड्ने छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र माल्दिभ्स गरी चार देशमात्रै सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुने फुटबल प्रशिक्षक शम्भु केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्