
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले संघीय संसदमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपा अध्यक्षसमेत रहेका यादवले सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्न खोजिएको जस्तो देखिएको बताएका हुन् ।
प्रदेश र स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्य संघीयताको मूल मर्म र भावनाविपरीत रहेको भन्दै उनले प्रदेश र स्थानीय तह संघका पार्टनर रहेका, तर इकाइ नभएका बताए । जसअनुसार नीति तथा कार्यक्रमले संघीयता विरोधी भाग बोक्ने काम गरेको यादवको भनाइ छ ।
संघको नाम पहिचानको आधारमा राख्नुपर्ने भन्दै उनले प्रदेशलाई प्रहरी हस्तान्तरण पनि गर्नुपर्नेमा जोड दिए । संविधानप्रदत्त अधिकार प्रदेश र स्थानीय तहलाई उपयोग गर्न दिन नीति तथा कार्यक्रमले केही नसमेटिएको भन्दै अध्यक्ष यादवले आपत्ति जनाए ।











