काठमाडौं । नागरिक अगुवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पदमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाएको भन्दै खबरदारी गरेका छन् । उनीहरुले बिहीबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी र संस्कृतिविद् त्रिरत्न मानन्धरले विगतमा भएका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्दै खबरदारी गरेका छन् ।
उनीहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा नेपाल प्रहरीले सुरू गरेको अनुसन्धानले भ्रष्ट जोसुकै भएपनि उम्कन पाउँदैन भन्ने आम आशा पलाएको थियो । कुनै किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछन् भन्ने आम माग रहेको हो । अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याइ विगतका अरू भ्रष्टाचार काण्डमाझैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’
उनीहरूले प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्तिलाई कठघरामा उभ्याउन पनि सरकारसँग माग गर्दै भनेका छन्, ‘अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ ।’
सरकारी वकिल कार्यलय काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा बुधबार ३० जनाविरूद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गराएको छ । प्रतिवादी बनाइएको ३० जनामध्ये १४ फरार छन् । अन्य १६ जना भने प्रहरी हिरासतमा रहेका छन् ।











