काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्ने काम गरेको बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा ओलीले सत्तापक्षले नियोजित रुपमा आधारहित आरोप लगाएर संसद जस्तो गरिमामय ठाँउबाट एमालेबिरुद्ध जनतामा भ्रम पार्ने काम गरेको बताए ।
आफुले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको भन्दै इमानका शत्रुहरुले तथ्यहिन आरोप लगाउन खोजेको उनले बताए । अध्यक्ष ओलीले पशुपतिको जलहरी र औषधीमा भ्रष्टाचार भएको बिषयमा पुष्टि हुने कुनै आधार नै नभएको भन्दै संसद अवरुद्ध गर्नुपरेको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफु नजिक भएका व्यक्तिहरुको नाम पोल्न लगाएको र प्रचार गर्न लगाएको टिप्पणी गरे ।
शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेपनि एमालेतर्फ बाढी फर्काउन खोजेको उनको भनाइ छ । ओलीले एक बर्ष अघि नै शरणार्थी प्रकरणमा उजुरी आएपछि गुपचुप राखेर मिलाउन खोजेको आरोप लगाए । उनले एमालेबिरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास हुनसक्ने भन्दै सजक हुनुपर्ने बताए ।
उनले आफु पूर्व जादा ढुङ्गा हानेर मार्ने प्रयास गरेपनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको र सरकारले नै हिंसालाई बढावा गरिरहेको बताए । ओलीले वर्तमान सरकारको भूमिका एमालेको विरुद्धमा काम गर्ने मात्रै रहेको पनि बताए ।











