काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।

संसदमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् ।
शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताए । जलहरी प्रकरणमा प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै छानबिनमा सरकारले सहयोग गर्ने बताए ।
उनले भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’
१० जेठमा माओवादी सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचारका काण्डहरु भएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’
१२ जेठको बैठकमा एमाले सांसदहरुले उनको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार शनिबार प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसदको अवरोध हटेको हो ।











