Logo
Logo

विराटनगरमा पक्राउ परेका ६५ प्रदर्शनकारी रिहा, २१ जना छुटेनन्


693
Shares

काठमाडौं । कोशी प्रदेश नामकरणविरुद्ध प्रदर्शनका क्रममा आइतबार पक्राउ परेका ६५ जना रिहा भएका छन् ।

कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका किरात राई यायोक्खाका अध्यक्ष जिवन हाताचो राईसहित ६५ जना आइतबार मध्यराति रिहा भएका हुन् । २१ जनालाई भने प्रहरीले थप अनुसन्धानका लागि भन्दै नियन्त्रणमा राखेको छ ।

कोशी प्रदेश नामकरणपछि बसेको पहिलो अधिवेशनलाई अवरोध गर्ने भन्दै नामकरणको विरोधमा आन्दोलनरत विभिन्न संघसंस्था र पार्टीहरूले आइतबार कोशी प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरेका थिए ।

आन्दोलनका लागि विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरूलाई प्रहरीले आइतबार बिहानैबाट विराटनगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका मध्ये ६५ जनालाई छाडिएको र २१ जनालाई नछाडिएको किराँत राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए । दिउँसो प्रदेशसभा अगाडि भएको प्रदर्शनमा ढुंगामुढा गर्नेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनका क्रममा १७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट नेपाल पुलिसका २० जना, सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् ।

तोडफोड र ढुंगामुढामा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ९० सेल अश्रुग्यास प्रहार र ३८ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

फागुन १७ गते कोशी प्रदेशसभाको २ तिहाइ बहुमतले प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या दिनदिनै बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्