काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भने, ‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ । समितिमा सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन सकेको छैन ।’
‘तपाईंहरुले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्’ उनले भने ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।
संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरुको मनोनयन भए पनि सभापित चयनको प्रक्रिया अझै सुरु भएको छैन ।











