Logo
Logo

एआइजी ज्ञवालीले नक्कली शरणार्थी प्रकरणका सानु भण्डारीलाई किन भेटे ?



काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम लाल ज्ञवाली र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सानु भण्डारीबीच भेट भएको छ । 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरिएकाहरूलाई अनुसन्धान सकेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले पनि सानु भण्डारी सहितका आरोपितलाई विभिन्न मुद्दा माग दाबी गरेको छ । 

नक्कली शरणार्थी प्रकरणका आरोपितहरू हाल अदालती बयानकै क्रममा रहेका छन् । यस्तो अवस्थामा एआइजी ज्ञवाली र आरोपित भण्डारीबिचको भेटलाई सन्देहपूर्ण मानिएको छ ।

अदालती बयानमा सहभागी हुन बाँकी रहेका आरोपित भण्डारीलाई आफ्नो कार्यालयमा बोलाएर एआइजी ज्ञवालीले बयान फेर्न दबाब दिएको आरोप लागेको छ ।

प्रहरीका एक उच्च अधिकारीले भने– ‘अदालती बयानका क्रममा रहेका भण्डारीलाई प्रहरीले आफ्नो कार्यालयमा बोलाउनुलाई सन्देहपूर्ण मानिन्छ । अदालत पुगिसकेका आरोपितलाई अनुसन्धान अधिकृतले पनि थप बयान लिन वा भेटघाट गर्न मिल्दैन । तर, ज्ञवालीले भण्डारीसँग भेटेका छन् । यस भेटलाई सामान्य मान्न सकिन्न ।’

एआइजी ज्ञवालीले पनि आरोपित भण्डारी काठमाडौं उपत्यका प्रहरी कार्यालय आएको स्वीकार गरेका छन् । ज्ञवालीले भने– ‘उनले बिरामी छु । उपचारको उचित व्यवस्था भएन भनेर रिपोर्टिङ गराएका थिए । सोही अनुरूप मेरो कार्यालय आएका हुन् । उनलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छु । बाँकी कुरा तथ्यहीन हुन् ।’

अनुसन्धान सकेर अदालतमा पेस गरिसकेको आरोपितसँग प्रहरीका अनुसन्धान अधिकृतले समेत थप अनुसन्धान गर्न पाउँदैन । सोही कारण यस्तो अवस्थामा हुने भेटलाई सन्देहपूर्ण हेर्ने गरिन्छ ।

एआइजी ज्ञवाली भने नक्कली शरणार्थी प्रकरणलाई प्रभाव पारेर विषयान्तर गर्न चाहनेहरूले अनेक प्रयास गरिरहेको आरोप लगाउँछन् । उनले भने– ‘प्रहरीले अनुसन्धान सकेर अदालत पठाइसकेको विषय हो । यसमा हामीले बाँकी केही गर्न मिल्दैन । हामीले दबाब दिने कुरै हुँदैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई नै तरङ्गित पारेकाे यो प्रकरणलाई विषयान्तर गर्न अनेक गतिविधि भइरहेको छन् ।’

आरोपित भण्डारी सोमबार दिउँसो २ बजे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्