
काठमाडौं । सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को लागि संसदमा बजेट पेश गरेको छ ।
अनावश्यक खर्च कटौती र आवश्यक क्षेत्रमा खर्च बढाउने तयारीका साथ अर्थमन्त्री डा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
सामान्यतया बजेट पेश भएको एक दुई दिनमै संसदमा बजेटमाथिको छलफल प्रारम्भ हुन्छ । तर यसपटक भने बजेट पेश भएको ६ दिनपछि मात्रै छलफल सुरु हुनेभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बुधबारदेखि ४ दिने भारत भ्रमण गर्दैछन् । प्रधानमन्त्री भारतबाट फर्किएपछि मात्रै बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुनेछ । बजेटमाथि जेठ २१ देखि छलफल हुने सभामुख देवराज घिमिरेले बताए । बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिनेछन् ।











