Logo
Logo

जाजरकोटमा सिस्नु हानाहान !


- दृष्टि न्युज/संवाददाता



जाजरकोट, १ माघ । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे संक्रान्ति मनाउने कार्य सुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ ।
मंगलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे संक्रान्ति मनाउन टाढाटाढाबाट पाहुना पुगिसकेको पञ्च भयार माध्यमिक विद्यालय जिकुवाका शिक्षक वीरबहादुर खत्रीले बताए । यो परम्परा कहिलेबाट शुरु भयो भन्ने यकिन नभए पनि केटाकेटीले रमाइलोका लागि खेल्दाखेल्दै परम्पराको रूपमा स्थापित भएको हुनसक्ने नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । आजको दिन सिस्नु नछुने र नखेल्ने व्यक्ति सँुगुर हुने जनविश्वाससमेत रहेको पाइन्छ । विवाह गर्न मिल्ने नाता पर्नेहरूबीच बढी सिस्नु हानाहान गर्ने चलन स्थापित छ ।
सिस्नु खेल्न टाढाटाढाबाट नलगाड नगरपापालिका का १ देखि १० वडामा पुग्ने गर्दछन् । सिस्नु खेल्दाखेल्दै विवाहसमेत हुने गरेको छ । गाउँगाउँमा बाक्लो घर भएका ठाउँमा जम्मा भएर सिस्नु खेल्ने काम हुने नगरप्रमुख रावलले बताए । रुकुमको आठविसकोटमा पनि सिस्नु खेल्ने काम हुने गर्दछ ।
त्यस्तै तल्लो डोल्पामा बिहानै उठेर (ढकुल्लो) खानेकुरा गाउँगाउँमा बाँड्नुका साथै (ठेलोवेजो) अर्थात गाउँभरीका यूवाहरु जम्म भएर बन्दुकबाट तारो हानेर संक्रान्ति बनाउने काम हुने मुट्केचुला गाउँपालिका–९ सर्मीका शिक्षक हस्तबहादुर बुढाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्