Logo
Logo

कार्यकर्ता नछाडे आमहड्ताल गर्ने पहिचानवादीको चेतावनी


1.3k
Shares

विराटनगर । पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।

प्रदेश १ काे नाम कोशी राखेपछि पहिचानवादी पक्षधरले प्रदेशको पहिचानको आधारमा हुनुपर्ने भन्दै विभिन्न चरणको आन्दोलन गर्दै आएको छ । पहिचानवादी पक्षधरले गरेको आन्दोलनमा प्रहरीले धरपकड गरी आन्दोलकारीहरु पक्राउ गरेका छन् ।

आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ । यदि माग सम्बोधन नभए बुधबारबाट अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी समेत दिइएको छ ।

पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर गरेको शान्तिपुर्वक गरिएको आन्दोलनमा प्रहरीले बल प्रयोग गरी १५० भन्दा बढी आनदोलनकारी घाइते भएको र १५ जना भन्दा बढीले मुद्धा खेपिरहेको बताइएको छ ।

प्रदेशको नामकरण विवादमा प्रहरी र आनदोलनकारीबीच भएको झडपमा परी एक आन्दोलनकारी पदम गिरी (लाजेहाङ) शहिद भइसकेको अवस्थामा सरकारले समस्या समाधान भन्दा संसद बोलाएर थप झडप गराएको उनीहरुको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार प्रहरी नियन्त्रणमा रहेका २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइसकेको छैन । पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय आज हुने उनले बताए ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्