काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति आपत्ति जनाएका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा ओलीले नेपालका भू-भागहरुलाई समावेश गर्दै आफ्नो नक्सामा राखेर भारतले नेपालप्रति हेपाहा प्रवृति देखाएको समेत बताए । उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा उक्त नक्सा हटाउन भन्नसक्नुपर्ने बताए ।
राष्ट्रहितमा कुरा गर्न नसके प्रधानमन्त्रीको भारत भ्रमणको कुनै अर्थ नहुने उहाको भनाइ छ । नेपालको भूमि आफ्नो नक्साभित्र हालेर भारतजस्तो नमूना लोकतन्त्र भनिएको देशले हेपाहा काम गरे त्यसलाई उचित भन्न नसकिने उनले बताए ।
ओलीले विश्वमै ठूला देशले साना देशलाई हेप्ने क्रमले निरन्तरता पाएपनि संयुक्त राष्ट्रसंघ निरिह रहेको बताए ।














