Logo
Logo

दिल्लीमा प्रचण्ड- प्राथमिकतामा ऊर्जा र पारवहन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यस पटकको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्डले चारदिने भारत भ्रमणका क्रममा विविध विषयमा छलफल र सम्झौता गर्ने तयारी गरेका छन् ।

भ्रमणका क्रममा उनले द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका अनुसार भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारणलाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत शिलान्यास गर्ने कार्यसूची रहेको छ ।

प्राथमकितामा ऊर्जा र पारवहन
प्रधानमन्त्री प्रचण्डले यस भ्रमणमा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गलाई प्राथमिकतामा राखिएको छ ।

नेपालले दीर्घकालीन रुपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ । भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशबीच छलफल गरेर निष्कर्षमा पुर्याउने तयारी गरिएको छ ।

अनुसार भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डको यो पटकको भारत भ्रमणका क्रममा नेपालले विशेष प्राथमिक्ताका साथ पारवन सन्धिलाई राखेको हो । यसअघि गरिएको सन्धि पुरानो भएकाले समयानुकुल सन्धि गर्ने गरी नेपाली पक्षले पारवहन सन्धि पुनरावलोकनको ड्राफ्ट तयार पारेको हो ।

यस्तै, प्रधानमन्त्री प्रचण्डको यस भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि ‘इम्प्लिमेन्टेसन अफ ट्रान्समिसन सर्भिस एग्रिमेन्ट’ हुने भएको छ । यो सम्झौतासँगै प्रसारणलाइनको शिलान्यास पनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् ।

यस्तै, यो ढल्केबर-मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । न्यू बुटवल–गोरखपुर प्रसारणालाइन नेपालमा अमेरिकी अनुदान कार्यक्रम एमसीसीअन्तरगत बनिरहेको प्रसारणलाइनसँग जोडिने छ ।

सुख्खा बन्दरगाह र पाइपलाइन
भ्रमणका क्रममा सिलीगुढी चारआली पाइपलाइन र टर्मिनल ट्यांक निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइपलाइन र स्टोरेज टर्मिनल ट्यांक निर्माणका बारेमा सहमति गर्ने तयारी गरिएको छ ।

यस्तै, कञ्चनपुरको दोधराचाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणबारे पनि सम्झौता गर्ने तयारी छ । सम्झौताअनुसार उक्त सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण लागत भातरले व्यहोर्ने गरी सम्झौता हुनेछ । त्यस्तै, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्याँस ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा समेत सम्झौता गर्ने तयारी गरिएको छ ।


मोदीसँग वान टु वान वार्ता
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा पूर्ण स्वदेशी लगानीमा बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली भारतको प्रतिस्पर्धात्मक बजारमा निर्यात गर्ने प्रस्तावबारे ध्यानाकर्षण गराउने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीसँगको वान-टू-वान वार्तामै उक्त विषय उठाउँदैछन् । उनले चिनियाँ ठेकेदार संलग्न भएको देखाएर नेपालको गौरवको आयोजनाको बिजुलीले निर्यात गर्न नदिएको विषय पनि भारतसँग उठाउँदैछन् ।

नेपाल विद्युत प्राधिकरणले ऊर्जा परियोजनाहरूमा चिनियाँ लगानी वा स्वामित्वको बारेमा भारतको चासोलाई ध्यान दिएपनि अन्तर्राष्ट्रियस्तरको खुला प्रतिस्पर्धाबाट ठेकेदार छान्ने कुरामा चिनियाँ निर्माण कम्पनीलाई रोक्न सम्भव नहुने बताउँदै आएको छ ।
सन् २०२१ देखि सञ्चालनमा आएको माथिल्लो तामाकोशी आयोजनाको सिभिल निर्माणको काम चीनको सिनो हाइड्रोले गरेको थियो । तर, आयोजनामा अरू ३ ठेकदार कम्पनी भारतीय नै थिए । एन्ड्रिज हाइड्रो, इन्डियाले इलेक्ट्रोमेकानिकल, टेक्सम्याको इन्डियाले हाइड्रोमेकानिकल र भारतकै केईसी इन्टरनेसनलले प्रसारणलाइनको निर्माण गरेका थिए ।

अन्तर्राष्ट्रिय टेण्डरमार्फत छनोट भएका अधिकांश भारतीय ठेकेदारहरूबाट निर्माण भएको तामाकोशी जलविद्युत परियोजनाको सिभिल साइटमा चिनियाँ सिनो हाइड्रो संलग्न भएको देखाएर भारतले तामाकोशी आयोजनाबाट उत्पादित बिजुली किन्न मानेको छैन । जबकि भारतको अन्तरदेशीय विद्युत व्यापारको निर्देशिका आउनुअघि नै निर्माणको काम सकिएको थियो ।

भ्रमण तालिका
गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्डले छिमेकी राष्ट्र भारतको भ्रमणमा बुधबार (आज) गएका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाललगायत छन् ।

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता बिहीबार (भोलि)देखि मात्रै औपचाचारिक भेटवार्ता सुरु हुनेछ । विहीबार दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यस्तै, त्यसलगत्तै विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहबीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । त्यसअघि बुधबार आजै प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् ।

यस्तै, जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको छ । हैदरावाद हाउसमै केही सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

उद्घाटन र शिलान्यास
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीले बिहीबार दिउँसो नयाँदिल्लीस्थित कष्टम यार्डको संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । औपचारिक उद्घाटनसँगै विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी)मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सञ्चालनमा आउने भएको छ ।

त्यससँगै भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यो प्रचण्डको प्रधानमन्त्रीका रूपमा तेस्रो भारत भ्रमण हो । यसअघि विसं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि औपचारिक भारत भ्रमण गरेका थिए । प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल टोली जेठ २० गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्