Logo
Logo

प्रधानमन्त्रीले भारतमा यसरी बिताउने छन् चार दिन


2.9k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् ।

प्रचण्ड नेतृत्वको टोली बुधबार दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेको थियो । दिउँसो २ः २५ बजे नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुगेका छन् । प्रचण्ड नेतृत्वको टोलीलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यस भ्रमणलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड आफैंले पनि यस भ्रमण ऐतिहासिक हुने बताउँदै आएका छन् । निकै महत्वका साथ हेरिएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका यस्तो छ ।

प्रधानमन्त्री प्रचण्डको सेड्युल
पहिलो दिन, बुधबार
दिउँसो १ बजे : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान ।

दिउँसो २ः२५ बजे : नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

दिउँसो ३ः३० बजे : सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा ।

साँझ ६ बजे : भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता ।

डोभालसँगको भेटवार्ता पछि प्रधानमन्त्री प्रचण्ड नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुने र प्रवासी नेपालीलाई सम्बोधन गर्नेछन् ।

दोस्रो दिन, बिहीबार

बिहान १०ः ३० बजे : राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने ।

बिहान ११ बजे : हैदरावाद हाउस फर्किने ।

बिहान ११ः०५ बजे : भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने ।

बिहान ११ः४५ बजे : प्रतिनिधिमण्डल स्तरको बैठकमा सहभागी हुने ।

माध्यान्न १२ बजे : केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गर्ने ।

दिउँसो ४ बजे : भारतका उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्ने ।

दिउँसो ४ः३० बजे : भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने ।

दिउँसो ५ः ३० बजे : नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने ।

सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

बिहीबार साँझ भने भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुने र भारतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

तेस्रो दिन, शुक्रबार
प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नेछन् । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ । त्यही दिन उनले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्नेछन् ।

चौथो दिन, शनिबार

प्रधानमन्त्री प्रचण्ड इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे नयाँदिल्ली फर्किने छन् । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यसअघि वि.सं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारत भ्रमण गरेका थिए । त्यस्तै, ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा प्रचण्डले भारतको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्