
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ ।
उनीहरुबीच आज बिहान ११ः०५ बजे हैदारावाद हाउसमा भेटवार्ता हुने भएको हो । त्यसअघि प्रचण्डले आज राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ ।
दुई प्रधानमन्त्रीको भेटवार्तापछि आज केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।
आज अपराह्न ४ बजे प्रचण्डले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साढे ४ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ साढे ५ बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि हिजो प्रधानमन्त्री प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका छन् । डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए । रात्रिभोजका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गरेका थिए ।














