Logo
Logo

उसुमा दीपक र कराँतेमा अनुपमाले दिलाए नेपालीलाई स्वर्ण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् ।
लगानखेलस्थित आर्मीको कर्भडहलमा बुधबार आज भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मंगलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिइन् ।
यस्तै, बुधबार कराँतेमा अनुपमा मगरले नेपाललाई थप स्वर्ण पदक दिलाएकी छन् । कराँतेअन्तरगत कुमतेमा ६८ केजी माथि तौल समूहमा मगरले पाकिस्तानी खेलाडी नरगिसलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । मगरले ६–३ ले खेल आफ्नो पक्षमा पारेकी छिन् । यी पदकसँगै नेपालको स्वर्ण पदक संख्या २५ पुगेको छ ।
त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो । नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिनुभएको थियो । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस स्पर्धामा श्रीलंकाका थारिदुले स्वर्ण जितेका छन् । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पारे ।

प्रतिक्रिया दिनुहोस्