काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बिहीबार सम्बोधन गर्दै मोदीले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने बताए ।

‘हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौं । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौं’, उनले भने ।
मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको र अझ धेरै बलियो बनाउने बताए । ‘यो सुन्दर क्षणको अझ बढी महत्त्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौं कि रामायण सर्किससँग सम्बन्धित परियोजनामा तीब्रता ल्याउनु पर्छ,’ मोदीले भने ।
संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री प्रचण्डले पनि सीमा समस्या समाधानको विषयमा बोलेका थिए । उनले भने, ‘प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल गर्यौं । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।’