Logo
Logo

हवाई रुटबारे छलफल भयो, सम्झौता भएन



काठमाडौं । नेपाल र भारतबीच विभिन्न सात वटा परियोजनामा सम्झौता भएको छ । तर, उक्त सम्झौतामा थप हवाई रुट भने परेको छैन । भ्रमणका क्रममा भारतका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच विभिन्न विषयमा छलफल भएपनि हवाई रुटबारे ठोस सहमति नभएको हो ।

नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो । तर, यसमा ठोस सहमति नभएको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै हवाई रुटबारे भारत सकारात्मक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो । एटीआर विमानका लागि द्वीपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले भैरहवालगायतका विमानस्थलबाट भारतका नजिकका सहरमा जाने एटीआर उडानका लागि भारत सरकार सकारात्मक भएको बताए । तर, यो विषय सहमतिका रूपमा भने आएको छ्रैन ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर परियोजनाको पनि टुंगो लगाउन भारतसँग माग थियो । पञ्चेश्वर परियोजनाका लागि तीन महिनामा डीपीआर तयार गर्ने दुवै देशका अधिकारीहरुलाई निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डले बताए । एक वर्षभित्र परियोजनाको मोडालिटी तय हुने उनले उल्लेख गरेका छन् ।

डीपीआर बनाउनेलगायतका विषय नेपालले विगतदेखि नै कुरा उठाउँदै आएको हो । विगतका भ्रमण र वार्ताहरूमा पनि यही विषय आउने गरेको थियो । तर, अहिले पनि ठोस सहमतिबिना पुरानै कुरा दोहो¥याइएको छ ।

नेपाल र भारतका प्रधानमन्त्री एक–अर्काको देशको भ्रमणमा जाँदा हरेक पटक पञ्चेश्वरको विषय उठाइँदै आइएको छ । ९ वर्षअघि पहिलोपटक नेपाल भ्रमणमा आउँदा मोदीले संसदमा बोल्दै पञ्चेश्वर ५ वर्षभित्र सम्पन्न हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्