काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जनामध्ये १५ जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा बिहीबार टोबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान लिइएको छ ।

जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार आज तीन जनाको बयान लिएसँगै १५ जना बयान सकिएको हो । यस्त्र, शुक्रबार अर्थात् भोलि बालकृष्ण खाँण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान हुनेछ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार यस प्रकरणमा सरकारी वकिलको कार्यलयले ३० जनालाई प्रतिवादी बनाएको छ । त्यसमध्ये १३ जना फरार रहेका छन् ।
प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो । उनीहरूमाथि राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।
तीसै जनालाई ठगीमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ । उनीहरूबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराउन पनि सरकारी वकिलले माग गरेको छ ।











