
काठमाडौं । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा आज (शुक्रबार) लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले बताए ।
उनीहरुले प्रदर्शनको क्रममा भारतले जारी गरेको ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए । यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए ।











