Logo
Logo

१३औँ साग : भूटानमाथि नेपालको शानदार जित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ मंसिर । १३औँ साग प्रतियोगिताअन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हासिल गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको छ ।
नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो । नेपालले तीन विकेटको क्षतिमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो । अन्तर्राष्ट्रिय टी–२० म्याचमा यो १८औँ उच्च स्कोर हो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले ६ विकेटको क्षतिमा ९५ रनमात्र बनाएको थियो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल नायक भए । उनले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाएका थिए । विस्फोटक ब्याटिङ गर्नेक्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरे ।
नेपालले पहिलो विकेटका लागि १०८ रनको साझेदारीमार्फत गतिलो सुरुवात गरेको थियो । पूर्वकप्तान पारस खड्काले अद्र्धशतक पार गर्दै २८ बलमा ५७ रन बनाए । उनले एक छक्का र ९ चौका प्रहार गरेका थिए भने दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।
भुटानका लागि कर्मा दोर्जीले ४ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिए भने तोब्देन सिंग्येले ४ ओभरमा ५३ रन दिएर एक विकेट हात पारे । त्यस्तै रङजुंग मिक्यो दोर्जीले भुटानका लागि सर्वाधिक २७ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्