Logo
Logo

भारतसँग पुनः ‘हवाइ रुट’बारे कुराकानी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुँदैछन् । १५ जनवरीदेखि १६ सम्म आयोजना हुने उक्त समिटमा सहभागी उनी सोमबार साँझ भारत त्यसतर्फ लागेका छन् ।
मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि सहभागी छन् । भारत भ्रमणमा रहँदा मन्त्री अधिकारीले भारतीय अधिकारीसँगको साइडलाइन वार्तामा हवाईमार्ग प्रवेशविन्दु ‘एयर रुट’ सम्बन्धमा पनि कुराकानी गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमानन प्राधिकरणबीच नेपाललाई थप हवाई रुट दिने सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम लामो समय बितिसक्दा पनि भारतले हवाई रुट दिन चासो देखाएको छैन । गत २ असारमा भएको सहमतिअनुसार भारतले नेपाललाई थप तीन हवाई रुट दिने सहमति भएको थियो ।
सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौँदेखि विराटनगर तथा जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने उल्लेख गरिएको थियो ।
यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि वर्तमान काठमाडौँ–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकन गरी सोको आधारमा लागू गर्ने छ ।
यस्तै पूर्वतर्फ काठमाडाँै–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको अधारमा लागू गर्ने सहमति भएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर ४.३ अर्ब यात्रुले हवाई यात्रा गरेका छन् । यसबाट अघिल्लो वर्षको तुलनामा हवाईयात्रुको सङ्ख्यामा ६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
एशिया प्रशान्त क्षेत्रमा हवाई यात्रुको संख्यामा ७.३ प्रतिशतले वृद्धि भएको देखिन्छ भने यो क्षेत्र संसारकै आन्तरिक हवाई यात्रुको सङ्ख्याको ४२ प्रतिशत हिस्सा ओगटी सर्वाधिक ठूलो आन्तरिक बजारको रुपमा विकसित भएको छ ।
भूपरिवेष्टित मुलुक भएकाले नेपालमा आउने सम्पूर्ण पर्यटक संख्याको ८० प्रतिशतभन्दा बढी पर्यटक हवाईमार्गबाटै आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्