काठमाडौं । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली नागरिकको सम्मानमा पाकिस्तानी राजदूतावासले ‘होटल अलफट’मा गेट टुगेदर कार्यक्रम गरेको छ ।
पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (पीटीएपी) अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ आदिमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको सम्मानमा आइतबार काठमाडौंस्थित दूतावासले कार्यक्रम आयोजना गरेको हो ।

प्रमुख अतिथिको रुपमा सहभागी काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गरे ।
उनले नेपाली विद्यार्थीलाई नेपालका प्रख्यात शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षा प्रदान गरेकामा पाकिस्तान सरकारलाई धन्यवादसमेत दिए । पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु¥याइरहेको बताउँदै आगामी दिनमा पनि पाकिस्तानको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।
यस्तै, नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए ।
उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीहरूले जीवनभरको मित्रता बनाएको र जीवनभर सकारात्मक सम्झनाहरू बोकेर बसेको बताए । साथै, आगामी दिनमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने उनले आश्वासन दिए ।











