Logo
Logo

नक्कली शरणार्थी बनाउनेको पक्षमा हाईप्रोफाइलले वकालत गर्दै



काठमाडौं । विद्वान र कानुनका ज्ञाता मानिने वकिलले भ्रष्टाचार, व्यतिथि र अन्यायविरुद्ध बहस गर्ने हो । तर, अहिले भ्रष्टाचारीलाई जोगाउन यिनै वकिलहरु लाइन लागेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोग पक्राउ परेका अभियुक्तको पक्षमा बहस गर्न वकिलहरु तँछाडमछाड गरिरहेका छन् । भ्रष्टाचारीको पक्षमा वकालत गर्न तम्सिनेहरु राजनीतिक दलका कार्यकर्तादेखि राज्यको उच्च अहोदामा रहेका र बसिसकेकाहरु छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तकोे काठमाडौं जिल्ला अदालतमा अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको छ । सरकार वादी रहेको यस मुद्दामा प्रतिवादी (अभियुक्त)का तर्फबाट करिब ५० जना कानुन व्यवसायी बहसका लागि तयार देखिएका हुन् ।

यो ठगी मुद्दामा प्रतिवादीको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र निवर्तमान अध्यक्षहरुको सहितको टोली वकालत गर्ने सूचीमा छन् ।

जिल्ला अदालत काठमाडौंमा सुरु भएको थुनछेक बहसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षाका लागि कांग्रेस निकट प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए)को टोलीले कानुन व्यवसायी तयारी गरेको छ । खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि बहस गर्दैछन् । खाँण गृहमन्त्री हुँदा खाती महानयायधिवक्ता थिए ।

कांग्रेसका सांसदसमेत रहेका खाँणको पक्षमा बहस गर्नका लागि बरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरेलगायत तयारी छन् । त्यस्तै, खाँणलाई जोगाउनका लागि वकालतनामाको फर्म भर्नेहरु ललित बस्नेत, डीएलए अध्यक्ष योगेन्द्र अधिकारीलगायत २० भन्दा बढी कानुन व्यवसायी देखिएका छन् ।

यस्तै, नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको पक्षमा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल नेतृत्वको कानुन व्यवसायीले बहस गर्ने भएका छन् । सचिव टेकनारायण पाण्डेलाई जोगाउन पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालत गर्ने भएका छन् । कानुन व्यवसायीले वकालतनामा लेखाउने क्रम चलिरहेकाले भ्रष्टाचारको पक्षमा बहस गर्ने वकिलको संख्या अझै बढ्ने देखिन्छ । तर, बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए काँटछाँट गर्ने अदालतको तयारी छ ।

नक्कली शरणार्थी प्रकरणमा सरकारी पक्षको नेतृत्व जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्ने भएका छन् । यस मुद्दाको बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र तयार पार्ने काममा संलग्न भएका ८ जना सरकारी वकिललाई नै जिम्मेवारी दिएको छ । सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

त्यस्तै, जाहेरी दिने पीडितको तर्फबाट भने अधिवक्ता स्वागत नेपाल, सुशील शर्मा सापकोटा लगायतले वकालतनामा लेखाएका छन् । यो मुद्दामा बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले भने कुनैपनि पक्षबाट बहस नगर्ने भएका छन् । पक्राउ परेका अधिकांश अभियुक्तले दुईभन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिनसम्म लम्बिने सम्भावना छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भने जेठ ३१ गते आदेश आउनेगरी बहसको तालिका निर्धारण गरेका छन् ।

आइतबारदेखि मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन् भने बुधबारदेखि ६ दिनसम्म प्रतिवादीका तर्फबाट वकिलहरुले बहस गर्नेछन् । त्यसपछि सरकारी वकिलले जवाफी बहस सक्ने र त्यही दिन आदेश आउनेगरी न्यायाधीश न्यौपानेले समय निर्धारण गरेका छन् । थुनछेक बहसपछि उल्लिखित १८ अभियुक्तलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागारबाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा फैसला हुनेछ ।

जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनचेक बहस सुरु भएको छ । न्यायाधीश न्यौपानेका अनुसार आइतबार सरकारी वकिलको तर्फबाट महेश खत्रीसहितले पक्राउ परेका १८ जना अभियुक्तलाई पूर्वपक्षका लागि थुनामा राख्न माग गर्दै बहस सुरु गरेका छन् ।

बहसका क्रममा सरकारी वकिलहरुले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम अभियुक्तहरुलाई तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरहरुमा अभियोग लागेकाले उनीहरुलाई थुनामै राख्नुपर्ने माग गरेका छन् ।
आइतबार कांग्रेस नेता खाँण, एमालेका नेता टोपबहादुर रायमाझीसहित १८ जनालाई थुनचेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले जेठ १० गते नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी, किर्ते, राज्यविरुद्धको कसुर, एकीकृत कसुर, संगठित अपराधको अभियोगमा ३० जनालाई अभियुक्त बनाई मुद्दा दायर गरेको थियो । बहसपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश जिल्ला अदालतले दिनेछ ।
पक्राउ पर्नेहरुमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जना छन् ।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापालगायत १२ जना फरार छन् भने प्रहरी उनीहरुलाई खोजिरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै यो गिरोहले २७ करोडभन्दा धेरै रकम पीडितहरूबाट संकलन गरी ठगेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कानुन व्यवसायीले हरेक प्रकृतिको मुद्दामा आरोपितको पक्षमा वकालत गर्न पाउँछन् । न्यायसको सिद्धान्त नै सबै नागरिकले न्याय र न्याय सेवा पाउनु हो । तर, पनि न्याय क्षेत्रबाट राज्यको उच्च अहोदामा बसिसकेकाहरुले बलात्कार, संगठित अपराध, राज्यद्रोह जस्ता गम्भीर प्रकृतिको मुद्दाको पक्षमा वकालत गर्नुलाई भने समाजले उचित मान्दैन ।

प्रतिक्रिया दिनुहोस्