Logo
Logo

भाटभटेनीको १७औं स्टोर भैरहवामा, मंसिर २६ गते भव्य उद्घाटन


- दृष्टि न्युज/संवाददाता


भैरहवा । नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केटको १७औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ हुँदैछ । काठमाण्डौको भाटभटेनीमा सन १९८४ मा एउटा सटरबाट कोल्ड स्टोरका रुपमा सुरुवात भएकोे यो स्टोर आज नैपालकै एक स्थापित अग्रणी ब्राण्ड भएको छ । यस सुपरमार्केटले देशभर आफ्नो शाखा विस्तार गर्नेक्रममा रुपन्देहीको सिद्धार्थनगर–७, नयाँ सडक, भैरहवामा आफ्नो १७ औं स्टोरको निर्माण कार्य सम्पन्न गरेको छ । यसअघि रुपन्देहीकै बुटवलमा आफ्नो १३औं स्टोर स्थापना गरी सञ्चालमा ल्याइसकेको भाटभटेनीको रुपन्देहीमा यो दोश्रो शाखा हो । आफ्नो सेवालाई देशभर विस्तार गर्ने अभियानमा लागेको भाटभटेनी सुपरमार्केटले यहीँ मंसिर २६ गते बिहीबारदेखि आफ्नो सेवा भैरहवा बासीमाँझ ल्याउन लागेको हो ।

 

देशभरका स्टोरहरुमा यो १७औं भए पनि लगानी र आकारले यो भक्तपुर र बौद्धपछि भाटभटेनीको तेस्रो ठूलो स्टोर रहेको सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बताए । नेपाल र भारतको सिमानाका नजिकै रहेको शहर भैरहवामा सञ्चालन हुने स्टोरलाई चुनौती र अवसर दुवै छन् । यसै कुरालाई मध्यनजर गरी स्टोरलाई थप व्यस्थित, आकर्षक र अन्यमा भन्दा धेरै सेवा प्रदान गर्ने नीति अपनाएको अध्यक्ष गुरुङले बताए ।

छ तले वृहत स्टोरमा डिपार्टमेण्टल स्टोरहरुसँगै यस क्षेत्रमा पहिलोपटक विश्वप्रसिद्ध केन्टुकी फ्राइड चिकेन (केएफसी) तथा प्रसिद्ध पेपे पिजाजस्ता ब्राण्डसमेत भाटभटेनीले भित्र्याएको र चाँडै नै फुडकोर्ट तथा मल्टी प्लेक्स सिनेमा हललगायतका सेवासमेत सञ्चालनमा आउने स्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । यस स्टोरमा अन्य स्टोरभन्दा सजावटका हिसाबलेसमेत नयाँपन होस् भनी आकर्षक गेट तथा पार्किङस्थलमा वाटर फाउन्टेनको निर्माण गरिएको उनले बताए । यस स्टोरले शुभारम्भको अवसरमा केही समयसम्म कुनै पनि सामान खरिदमा १० प्रतिशत छुटको अफरसमेत दिइने जनाइएको छ । स्टोरमा जग्गा तथा भवन बाहेक करिब ४० करोड लागत रहेको बताइएको छ ।

मंसिर २६ गते भव्य उद्घाटन कार्यक्रमका लागि विशेष तयारीमा रहेको बताउँदै सम्पूर्ण भैरहवावासीमा सहभागी हुन भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुङले आग्रह गरेका छन् । भैरहवा शाखा सञ्चालनपछि नेपालगञ्जमा भाटभटेनीको उद्घाटन हुनेछ । नेपालमै ५० हजारलाई रोजगार प्रदान गर्ने लक्ष्य राखेका अध्यक्ष गुरुङले ब्यावसायसँगै आफनो आम्दानीको केही अंश सामाजिक कार्यमासमेत लगाउँदै आएका छन् । उनले स्टोर विस्तारलाई तीव्रता दिँदै लक्ष्य पूरा गर्नेसमेत बताए । स्टोरमा हालसम्म करिब ८ हजार रोजगाररत छन् भने भैरहवाको स्टोरमा ४ सयदेखि ५ सयसम्म कार्यरत रहने उनले बताए ।

भैरहवामा भाटभटेनी सञ्चालनपछि नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजार सुनौली जाने क्रम घट्ने र नेपाली रुपैयाँ नेपालमै संचित रहने तथा भारतीय ग्राहकहरु पनि किनमेलका लागि नेपाल आउनेहुँदा अर्थतन्त्रमा समेत राम्रो प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । स्टोरले भारतीय बजारमा भन्दा सस्तो मूल्यमा सामग्रीहरु उपलब्ध गराउने दाबीसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्